खोटाङको मनमायाँ राई विमानस्थलमा परिक्षण उडान

दिलीप खत्री,
खोटाङ, १३ फागुन


पहिरोका कारण चर्किएको खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा मर्मतपछि परिक्षण उडान भरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित विमानस्थलमा पहिरोको कारण अवरुद्ध भएको झण्डै २१ महिनापछि मंगलबार नेपाल एयरलाईन्सको जहाजले परिक्षण उडान भरेको हो ।

डिलको माटो कटान हुँदा रन–वेसम्मको भाग भासिएपछि मर्मत गरिएको विमानस्थलमा काठ्माण्डौंबाट संविधानसभा सांसद एबं प्रदेशसभा सांसद रामकुमार राई, प्रदेशसभा सांसद उषाकला राई सहित आएको जहाजले परिक्षण उडान गरेको थियो ।

२०७५ साल जेठदेखि अवरुद्ध विमानस्थल नियमित उडानका लागि तयार भएपछि स्थानीय उत्साहित भएका छन् ।

२०७५ साल जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा बिमानस्थलको दक्षिणीतर्फको डिलबाट पहिरो सुरु भएपछि विमानस्थल अवरुद्ध भएको थियो ।

कटानका कारण बिमानस्थलको रन–वेभन्दा २÷३ मिटर नजिकसम्मको भाग भासिएपछि कान्छाराम कन्ट्रक्सनले करिब साँढे ६ करोडमा विमानस्थल मर्मतको काम पुरा गरेको हो ।

परिक्षण उडानकाक्रममा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधि, नेता तथा स्थानीयले खानीडाँडामा नियमित उडानका लागि नेपाल वायु सेवा निगमका प्रतिनिधि समक्ष माग राखेका छन् ।

प्रदेशसभाका सांसद रामकुमार राई र उषाकला राई, जिसस प्रमुख बबी चाम्लिङ, नेकपाका सचिव रामप्रसाद दंगाल, जिल्ला कार्यालय सदस्य जलसेर राई लगायतले खानीडाँडा–काठ्माण्डौं मात्र नभएर खानीडाँडा–बिराटनगर उडानका लागि व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

नेपाल वायु सेवा निगमका अप्रेसन विभाग प्रमुख दिपुराज ज्वारचनले भने खानीडाँडा विमानस्थलमा मंगलबार र शनिबार नियमित उडानको व्यवस्था मिलाईने बताउनुभयो ।

२०७२ साल असारमा कालोपत्रे गरिएको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु