खोटाङको केपीलासगढीमा १० बेडको क्वारेन्टाइन

खोटाङ, चैत्र १३


खोटाङको केपीलासगढी गाउँपालिकाले १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

अधिकांश स्थानीय तहले एउटै हलमा दर्जनौं बेड राखेर क्वारेन्टाइन तयार पारिरहेको अवस्थामा केपीलासगढी गाउँपालिकाले विहीबार बाक्सिलास्थित पृथ्बी माविको १० कोठामा १० बेडको क्वारेन्टाई तयार पारेको हो ।

कुनै एक जनालाई संक्रमण भएको अवस्थामा अन्यलाई पनि सर्ने खतरा हुने भएकाले एक कोठामा एक जनालाई मात्र राख्न मिल्ने गरी क्वारेन्टाइन बनाइएको केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए ।

‘कुनै एउटालाई संक्रमण भएको अवस्थामा अर्कोलाई नसरोस् भनेर एउटा कोठामा सिंगल बेड राखिएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘क्वारेन्टाइनमा राख्दा एक जनाको रोग अर्कोलाई सर्नेतर्फ सचेत हुन जरुरी छ । क्वारेन्टाइनमै महामारी फैलिने स्थिति बन्यो भने झन् हानीकारक हुन सक्छ ।’
गाउँपालिकाले बुधबारदेखि १५ दिन अगाडिसम्मका मितिभित्र विदेशबाट आएका युवालाई ल्याएर क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । यसका लागि वडा–वडामा विदेशबाट फर्किएका स्थानीयको तथ्यांक संकलन भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

यस्तै, केपीलासगढी गाउँपालिकाले बाक्सिलामा हेल्थ डेस्क खडा गरेको छ । व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट आइपुगेपछि गाउँपालिकाभित्र पाँच स्थानमा हेल्थ डेस्क राखिने अध्यक्ष राईले बताए ।

कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७ वटै वडामा प्रचार–प्रसार, माइकिङ, सचेतनामुलक फ्लेक्स राख्ने लगायतका काम भइरहेको गाउँपालिकालाइ उद्रित गर्दै हाम्रा सहकर्मी दिलिप खत्रीले जानकार दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु