खुम्बु चिनाउने महंगो ‘गीति वृत्तचित्र’

सोलुखुम्बु १२ – नेपाल पर्यटन बर्ष सन् २०२० को पुर्वसन्ध्यामा सोलुखुम्बुको पर्यटकीय स्थानीय तह खुम्बु पासाङल्हमु गाउँपालिकाको परिचय बोकेको ‘गीति वृत्तचित्र’ सार्वजनिक गरिएको छ ।

‘खुम्बु पासाङल्हमु हाम्रो, गौरब हाम्रो शान’ नाम दिईएको गीत बुधबार ओएसआर डिजिटल यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो । सुरेश खप्तरी मगरको गीत, शंकर थापा ‘स्माईल’को संगीतमा तयार भएको गीतमा मेलिना राई र सागर आलेले स्वर दिएका छन् ।

कोरियोग्राफ तथा निर्देशन भुपेन्द्र गुरुङले गरेको भिडियोमा सुरेश खप्तरी मगर, छिरिङडोमा शेर्पा लगायतले अभिनय गरेका छन् । भिडियो खुम्बु क्षेत्रको दर्जनौ रमणीय स्थानमा पुगेर छायांकन गरिएको हो ।

समुन्द्रि सतहदेखि ५ हजार ३५० मिटरको उचाईमा अवस्थित गोक्यो–रिसम्म पुगेर १८ दिन लगाएर छायाँकन गरिएको भिडियो निर्माणमा करिब ९ लाख खर्च भएको लेखक तथा निर्माता मगरले बताए । खरिखोलाका मगरले भने, ‘आफ्नो ठाउँको चिनारीको लागि गीत तयार पारेको हूँ । गीतले खुम्बुमा सगरमाथा मात्र हैन, दर्जनौ घुम्न र हेर्नलायकका स्थानहरुपनि छन् भन्ने सन्देश दिन गीत सफल होला ।’ पर्यटन बर्षलाई सर्पोट होस् भन्ने हेतुले पनि काम गरेको उनले बताए ।

‘स्थानीय सरकारसंग पटक पटक प्रस्ताव लगेपनि स्विकृत नभएपछि सहयोगीहरुसंग केही रकम संकलन गरे ।’ उनले भने, ‘केही रकम गोजीको खर्च गरेर गीत र भिडियो निर्माण गरेको हूँ ।’

गीतमा सगरमाथा रहेको खुम्बुको भाषा, जाती, धर्म र संस्कृतिसंगै प्राकृतिक छटालाई वर्णन गरिएको छ । खुम्बुमा बसोबास गर्ने शेर्पा, राई, मगर, तामाङ जातिहरुको लोकलय संग नजिक रहेर गीत तयार पारिएको छ । गीतमा खुम्जुङ, नाम्चे, नाचिपाङ, लुक्ला र खरिखोलालाई दर्शाउदै पाँच वटै वडाको परिचय दिन खोजिएको छ ।

बार्षिक ५० औ हजार पर्यटक पुग्ने खुम्बुलाई पर्यटकको किल्ला भनिएको छ भने दुधकोशी नदि, ईम्जा, गोक्यो ताललाई प्रस्तुत गरिएको गीतमा तेङबोचे गुम्बा र हमाली भेगमा पाईने वन्यजन्तु र चराहरु डाँफे, मुनाल, कस्तुरी, रेडपाण्डालाई परिचित गराईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!