खुम्बुमा प्रवेश शुल्क उठाउने निर्णय अपरिपक्कताको पराकाष्ठ भएको सरोकारवालाको भनाई

हिमाल एफ एम, २० असोज ।
सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामू गाउँपालिकाले पर्यटकबाट प्रवेश शुल्कबापत २ हजार रुपैयाँ उठाउने निर्णय अपरिपक्कताको पराकाष्ठ भएको सरोकारवालाहरुले ठहर गरेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)ले विहिवार नेपाल पर्यटन बोर्डमा आयोजना गरेको ‘स्थानीय पर्यटन शुल्कः राष्ट्रिय पर्यटनमा असर तथा टिम्स’ सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनिहरुले यस्तो अभिब्यक्ति दिएका हुन् ।

पर्यटकसँग शुल्क असुल्ने विषयको कानूनी दायर प्रस्ट पार्न सम्बन्धित निकायलाई आग्रह गर्दै कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीहरुले यस विषयमा पर्यटन मन्त्रालय मौन बस्न नहुनेमा जोड दिएका थिए ।

अधिवक्ता बसन्त बस्नेतले सिंहदरबारको अधिकार गाउँपालिकामा जाने भने पनि काननूतः त्यो कार्यान्वयन नभएको अवस्थामा खुम्बू गाउँपालिकाले पर्यटकसँग दोहोरो मार पर्ने गरि शुल्क उठाउनु कानून विपरित भएको बताए । उनले गाउँपालिकाले शुल्क उठाउने विषयमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेत मौन रहेको अवस्थामा आफूखुशी निर्णय गरेर खुम्बू गाउँपालिकाले पर्यटकबाट शुल्क उठाउन नपाउने बताए । अधिवक्ता बस्नेतले यो अवस्थामा पर्यटन व्यवसायीहरु चुप लागेर बस्न नहुने र तत्काल सर्वोच्च अदालतमा मुद्धा दायर गर्न पनि उनले सुझाए ।

यसैबीच, अधिवक्ता बस्नेतले टिम्सको अधिकार एउटा गाउँपालिकाले खोस्ने कुनै कानूनी व्यवस्था नरहेको बताएका छन् । उनले नेपाल सरकारले समते कानून संशोधन नगरी खोस्न नसक्ने टिम्स एउटा गाउँपालिकाले खोस्न खोज्नु हाँस्यास्पद र गुण्डागर्दीको नमूना रहेको बताए ।

कार्यक्रममा टानका अध्यक्ष चन्द्र रिजालले दोहोरो शुल्क असुलीले सबै पर्यटक र पर्यटन व्यवसायीहरुलाई मारमा पार्ने भन्दै यस्तो कदम तत्काल रोक्न सबैले सामुहिक कदम चाल्नु पर्ने बताए । उनले देश प्रादेशिक संरचनामा गइरहेको अवस्थामा यो समस्या क्यान्सर झैं फैलिदै जाने भन्दै तत्काल कानूनी उपचारदेखि आवश्यक परेको खण्डमा आन्दोलनसमेत गर्नु पर्ने बताए ।

टानका सदस्य तथा टिम्स संयोजक तारानाथ लामिछानेले खुम्बू क्षेत्रमा राखेका टिम्सका काउन्टर बन्द गराउने र टिम्स कार्ड च्यात्ने जस्ता गतिविधिको घोर भर्सना गर्दै यस्ता कार्य तत्काल रोक्न आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै टानका पूर्व अध्यक्ष तथा नेपाल पर्यटन व्यवसायि संघका अध्यक्ष दिपक महतले खुम्बु पासाङ ल्हामु गाउँपालिकाको निर्णय अपरिपक्व भएको वताउँदै नेपाल पर्यटन वोर्ड ऐनका आधारमा सञ्चालनमा आएको टिम्स एउटा गाउँपालिकाले खारेज गर्न नसक्ने वताए । गाउँपालिकाले शुल्क उठाए पनि टिम्स नउठाउन उसले आदेश दिन नसक्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समितिका सदस्य कृष्ण अर्याल लगायत पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले यहि अवस्था रहे पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने वताए ।

सोलुखुम्बू जिल्लाको खुम्बू पासाङल्हमू गाउँपालिकाले गत अक्टोबर १ वाट प्रति पर्यटक दुई हजार रुपैयाँ उठाउन थालेको छ ।

स्रोत–शिखरपोष्ट

Comments

comments

सम्बन्धित शीर्षकहरु