खुम्बुमा तस्करी र चोरीको आरोपमा ८ जना पक्राउ

सोलुखुम्बु, वैशाख २०

सोलुखुम्बुको खुम्बु क्षेत्रका स्थानीयले तस्कारी र चोरीको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । स्रोतका अनुसार दिङबोचेमा रहेको नार्गाजुन गुम्बाबाट २ थान शंख र ३ थान झ्याम्टा चोरी गर्ने महाकुलुङ गाउँपालिका २ का राजेश कुलुङ सहित ८ जनालाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय नाम्चेलाई बुझाएका छन् ।


एक स्थानीयका अनुसार तिनै व्यक्ति सगरमाथा राष्ट्रिय निकुन्जमा कस्तुरी तस्करीमा समेत संलग्न भएको हुन सक्ने आँकलन गरिएको छ । नाम्चे सामुदायीक प्रहरीका अध्यक्ष लामाकाजी शेर्पाले स्थानीयले नियन्त्रणमा लिएका व्यक्ति प्रहरीलाई बुझाएको र प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।

शेर्पाका अनुसार गत फागुन २६ गते तस्करीको आरोपमा पक्राउ परेका संखुवासभाका एक व्यक्ति पनि प्रहरी नियन्त्रणमै रहेका छन् । तस्करी प्रमाणित नभएपछि उनलाई छाडिएको थियो । गत आइतबार कस्तुरी मृत अवस्थामा फेला परेको घटनापछि भएको सरोकारवालाहरुको वैठकले संखुवा सभाका शंखरामलाई झिकाउने निर्णय गरेको थियो ।


जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार स्थानीयले बुझाएका ८ जना प्रहरी नियन्त्रणमा रहेको छ । ति मध्ये ३ जना चोरीमा संलग्न भएको प्रारम्भिक सूचना आएको प्रहरी निरिक्षक महेन्द्र दर्नालले बताए । स्थानीयले आरोप लगाएको जस्तो नियन्त्रणमा रहेका व्यक्तिहरु तस्कारीमा संलग्न भए नभएको अनुसन्धानबाट खुल्ने प्रहरी निरिक्षक दर्नालको भनाई छ ।


इलाका प्रहरी कार्यालय नाम्चेमा खुम्जुङ, खुन्दे, फोर्चे, पाङबोचे, दिङबोचे लगायतका गाउँबाट करिब एक सयको संख्यामा स्थानीय भेला भएका छन् । स्थानीयले तस्कारी र चोरीमा संलग्नलाई अनुसन्धान गरि कारबाहीको माग गर्दै नाराबाजी गरेका छन् ।


स्थानीयको सहयोगमा गत आइतबार निकुन्ज क्षेत्रमा ६ वटा कस्तुरी मृत र ५४ वटा पासो अवस्थामा फेला परेको थियो । शंकास्पद व्यक्तिहरुलाई शुक्रबार साँझ स्थानीयले नियन्त्रणमा लिएपछि रातारात नाम्चे ल्याएका थिए ।


विहानभरि निकुन्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय छलफलका लागि नआएपछि आक्रोशित स्थानीयले निकुन्जकै कर्मचारीको मिलेमतोमा तस्कारी भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!