खाजा खुवाउन थालेपछि विद्यार्थी नियमित

हिमाल एफ.एम
सोलुखुम्बु, चैत्र ३

सोलुखुम्बुको सोताङ स्थित पाथिभरा आधारभूत विद्यालयमा दिवाखाजा शुरु भएपछि विद्यार्थीको नियमितता बढेको छ । गैरसरकारी संस्था रीड नेपालको आर्थिक सहयोग र सोताङ गाउँपालिकाको सामाग्री व्यवस्थापनमा गत मंसिर देखि शुरु गरिएको दिवा खाजाले विद्यार्थीको नियमिततामा बृद्धि आएको विद्यालयले जनाएको छ ।

रीड नेपालले जिल्लाका ५ विद्यालयमा गरेको वेसलाईन सर्वेपछि पाथिभरा आधारभूत विद्यालय छनौटमा परेको थियो । अधिकांश तामाङ समुदायका बालबालिका पढ्ने विद्यालयमा दिवा खाजाका लागि अविभावकको समेत सहयोग रहेको छ ।

नियमित विद्यालय नजाने विद्यार्थीलाई नियमित बनाउने, विद्यालय छाड्ने संख्यालाई कमी गर्न र सिकाई उपलब्धि बृद्धि गर्नका लागि भन्दै शुरु गरिएको खाजाले विद्यार्थीमा प्रभाव पारेको विद्यालयका प्रध्यानाध्यापक नवराज थापाले बताए । उनले भने, ‘दिवा खाजा शुरु गरेपछि विद्यार्थीमा नियमितता आएको छ । हरेक दिन दर्जन भन्दा बढि विद्यार्थी गयल हुनेमा अहिले गयलको संख्या घटेर २ देखि ३ जनामा झरेको छ ।’ विद्यालयमा ३६ जना विद्यार्थी रहेका छन् ।

विद्यालयमा दिवा खाजा शुरु गर्नका लागि रीड नेपालले प्रतिदिन प्रतिविद्यार्थी ५० रुपैयाँको दरले सहयोग गर्दै आएको छ । शिक्षा विकास संयोजक केशव गिरीले विद्यालयको वेसलाईन सर्वेपछि विद्यालय छनौट गरेको बताए । उनले भने, ‘विद्यालय चलेको दिन विद्यार्थीको संख्या अनुसार प्रति विद्यालय ५० रुपैयाँ सहयोग गर्दै आएको छौ ।’ विद्यार्थी नियमित भएको खबरले खुसी पनि भएको गिरीको भनाई छ ।

खाजा व्यवस्थापनका लागि सोताङ गाउँपालिकाले ४६ हजारमा खाजा व्यवस्थापनका लागि आवश्यक भाडाँकुडाँको प्रबन्ध मिलाईदिएको छ । विद्यालय प्रशासनले दिवा खाजालाई प्रभावकारी बनाउन अविभावकले पनि खुलेर साथ दिएका छन् । ‘उनीहरु हरेक दिन पालैपालो खाजा पकाउन र खु्वाउन विद्यालयमा उपस्थित हुन्छन्’ प्रध्यानाध्यापक थापाले भने, ‘हरेक अविभावकले महिनाको एक भारी दाउरा पनि सहयोग गर्दै आउनुभएको छ ।’ विद्यार्थीहरुको लागि शुरु गरिएको दिवा खाजा प्रभावकारी बन्दै गएको थापाको भनाई छ ।

आफ्ना बालबालिकाको लागि विद्यालयमै खाजाको व्यवस्थापन भएपछि अविभावक पनि खुसि देखिएका छन् । उनीहरुले स्वस्फुर्त पालैपालो खाजा बनाउने र खुवाउने निर्णय लिएका हुन् । एक अविभावक भुवानसिंह राईले आर्थिक अवस्था कमजोर भएकै कारण दिउँसोमा खाजाको व्यवस्थापन गर्न नसक्ने अविभावकका लागि निकै सहज भएको बताए । उनले भने, ‘गरिबीको कारण दैनिक बालबालिकालाई खाजाको व्यवस्था गर्न सकिन्थ्यो । सबैको सहयोगमा खाजा दिने काम शुरु भयो । बालबच्चा पनि खुसि छन् । सधैँ विद्यालय जान्छौ भन्छन् । हामी अविभावक पनि खुसि छौ । खाजाले पढाईमा पनि सहयोग मिलेको छ । अविभावक राईले साना बालबालिकाको पोषणमा पनि सुधार आएको बताए ।

खाजाको रुपमा स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तुहरु प्रयोगमा ल्याईएको छ । गाउँघरमा पाईने आलु, स्कुस, पिँडालु, कोदो, मकै, भटमास लगायतका खाद्यवस्तु खाजाको रुपमा प्रयोग गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु