खर्कमै पुगेर प्राविधिक सेवा र पशु वीमा

सोलुखुम्बु, माघ ८ – विकटको स्थानीय तह मानिएको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अन्तरगत पशुपंक्षि शाखाले खर्कमै पुगेर प्राविधिक सेवा उपलब्ध गराएको छ । वडा नं ३ भित्र पर्ने निकै विकटमा अवस्थित गाउँ मार्मेकुका ४५ कृषकका खर्कमै पुगेर ४५२ पशुहरु लाई प्राविधिक सेवा उपलब्ध गराएको हो ।

प्राविधिक र उपचार सहतको टोली खर्कमा पुगेर १११ वटा चौरी, याक १०, जोक्पे १५, गाई २०, कुकुर ४५, बाख्रा १७, भेडा २५, भैँसी ३३ र ३८ वटा बंगुरको उपचार तथा खोप प्रदान गरिएको डा. विर्खराज कुलुङले जनाकारी दिए । पशुपालक कृषकले पालेका पशुपंक्षिमा देखिएका समस्या समाधान गरि उत्पादकत्व बृद्धिको उद्देश्य राखेर खर्कमै पुगेर उपचार गरिएको डा. कुलुङको भनाई छ ।


प्राविधिकको टोलीले खर्कमा पुगेर आन्तरिक तथा बाह्य परजीवी विरुद्ध उपचार सेवा, बन्ध्याकरण सेवा, संक्रामक रोगको पहिचान र उपचार, खोप सेवा उपलब्ध गराएको पशुपंक्षि सेवा शाखाले जनाएको छ । डा. कुलुङले भने, ‘भौगोलिक रुपमा पशुपंक्षि शाखासम्म आएर सेवा लिन नसक्ने कृषकहरुलाई सहजता र कृषि उत्पादन बृद्धिका लागि अघिल्लो बर्षदेखि खर्कमै पुगेर प्राविधिक सेवा उपलब्ध गराउन शुरु गरेका हौ । जस्ले कृषकहरु उत्साहत भएका छन् ।’ कतिपय कृषकले त आफ्ना पशुपंक्षिलाई पहिलो पटक प्राविधिक सेवा लिएको उनले बताए ।


चौरीपालन हराउदै गएको अवस्थामा ति कृषकलाई ऊर्जा थप्नका लागि पनि खर्कमा पुगेको कार्यालयले जनाएको छ । ‘भेडीखर्कमा पनि पुगेका छौ । बाख्रा, भैसी, गाई, बंगुरको पनि उपचार गरेका छौ,’ डा. कुलुङले भने । अघिल्लो बर्ष पुग्न नसकिएका क्षेत्रका खर्कमा यो बर्ष पुग्ने कार्यालयको तयारी रहेको छ ।


खर्कमै पशु वीमा
क्षति न्यूनिकरणका लागि सरकारले पशु वीमा कार्यक्रम ल्याएपनि ग्रामिण भेगमा सेवा उपलब्ध नभईरहेको अवस्थामा वीमा कम्पनीसंग सहकार्य गरि प्राविधिक सेवासंगै पशु वीमा पनि शुरु गरिएको हो ।


सल्लेरीमा रहेको आईएमई जनरल ईन्स्यूरेन्स कम्पनीसंग सहकार्य गरेर मार्मेकुका ४५ वटा चौरीको वीमा समेत गरिएको डा.कुलुङ बताए । वीमा बारे सुनेका कृषकलाई परामर्श गरेर वीमाको काम पनि अघि बढाईएको हो ।


कुकुरको धमाधम बन्ध्याकरण
भुस्याहा कुकुरको संख्या बढ्न थालेपछि महाकुलुङ गाउँपालिकाको पशुपंक्षि शाखाले भोले पोथी कुकुरको बन्ध्याकरण शुरु गरेको छ । सामाजिक दुर्घटनाको जोखिम बढेपछि बुङ क्षेत्रका भुस्याहा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने काम शुरु गरेको प्रमुख डा. विर्खराज कुलुङले जनाए ।


हालसम्म २० भाले कुकुरको क्यास्ट्रेसन र १० पोथी कुकुरको मेजर सर्जरी गरि रेविज विरुद्धको खोप दिईएको छ । बन्ध्याकरण र खोपको काम निरन्तर लैजाने र बुङ, छेस्काम गुदेल क्षेत्रका कुकुरलाई पनि बध्याकरण गर्नेछौ, डा. कुलुङले भने । आफु नेपाल पशु चिकित्सा परिषदमा दर्तावाला पशु चिकित्सक भएकोले बन्धाकरणका लागि बाहिरबाट विज्ञ टोली झिकाउन नपरेको उनले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु