कोरोनाको त्रासले पुर्व निर्धारित कार्यक्रम नै स्थगित

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, फागुन २१


कोरोना भाइरसको त्रासका कारण सोलुखुम्बु, ओखलढुङगा र खोटाङमा आयोजना गरिएको विभिन्न कार्यक्रमहरु स्थगित भएका छन् । कोरोना भाईरसको चर्चा भैरहेको समयमा यसबाट बच्न विभिन्न स्थानमा आयोजना गरिएको स्वास्थ्य शिविर तथा औपचारिक कार्यक्रमहरु स्थगित गरिएको हो ।

सोलुखुम्बु जिल्लाको माप्यदुधकोसी गाउँपालिकाको वडा नम्बर २ बासामा खानेपानी तथा शाखा सडक बिस्तार लगायतका योजनाहरुको उद्घाटन आगामी फागुन २४ गते गरिने भनिएपनि कोरोना भाइरसका कारण नेपाल सरकारद्धारा जारी सुचना अनुसार स्थगित गरिएको वडा अध्यक्ष तेज बहादुर थापा मगरले जानकारी दिए ।

त्यस्तै, जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुले जिल्लाका विभिन्न स्थानमा आयोजना गर्न लागेको आखाँ शिविर स्थगित गरिएको छ । विभिन्न स्थानिय तहका स्वास्थ्य शाखासँग शिविर सञ्चालनका विषयमा योजना बनाईसकेको भएपनि कोरोना भाईरसका कारण शिविर स्थगीत गरिएको नेत्र अधिकृत पुष्पबाबु बस्नेतले बताए । उता, ओखलढुङगाको लिखु गाउँपालिकामा आयोजना गरिएकोे मोतियाबिन्दु छनौट तथा शल्यक्रिया शिविर पनि स्थगित गरिएको बस्नेतको भनाई छ । आगामी चैत्र दुई गतेदेखि उक्त स्थानमा शिविर सञ्चालन गरिने भएको थियो ।

खोटाङमा कोराना भाईरसका कारण अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस विशेष कार्यक्रम स्थगन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशन अनुशार जिल्लाका १० स्थानीय तहमा मनाउने तयारी गरिएको ११० औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको हो ।

मन्त्रालयको पत्र अनुशार जिल्लाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका लगायतका स्थानीय तहले बुधबार छुट्टा–छुट्टै सूचना जारी गर्दै अन्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरेको जानकारी दिएको छ । यसैबीच, कोरोना भाइरसको संक्रमणका कारण खोटाङमा माक्सको अभाव भएको छ । कोरोना भाइरस सर्ने त्रासमा माक्सको बढि उपयोग भएपछि स्थानीय क्लिनिक तथा पसलमा माक्स अभाव भएको सहकर्मी दिलिप खत्रिले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!