कुलुङ समुदायले चाक्चाकुर, गुरुङ समुदायले ल्होसार र सुदुरपश्चिममा ठूलीरात पर्व धुमधाम मनाईदै

शिखर गजरकोटे
सोलुखुम्बु, १५ पौष

सोलुखुम्बुको महाकलुङ क्षेत्रमा कुलुङ समुदायले आज देखि चाक्चाकुर पर्व धुमधामका साथ मनाउदैछन् । जिल्लाको बुङ, छेस्काम र गुदेल भेगमा बसोबास गर्ने कुलुङको महान् चाड चाक्चाकुर ‘एलेदोङ ५०७८’ आजदेखि सुरु भएको छ ।

हरेक वर्ष पुस महिनाको १५ देखि ५ दिन सम्म चाक्चाकुर पर्व मनाईदै आईएको छ । पर्वको अबसरमा शुभकामना आदानप्रदान गर्ने, मिष्ठान्न परिकार खाने, नाच्ने गाउने गरिन्छ ।

चाक्चाकुरको अबसरमा महाकुलुङ गाउँपालिकाले ५ दिने महोत्सबकै आयोजना गरेको छ । बुङचोकमा गायक शम्भु राई सहितका दर्जनौ कलाकारको प्रस्तुतीका लागि तयारी भईरहेको गाउँपालिका प्रमुख सागर किँरातीले जानकारी दिनुभयो । महोत्सब अवधिमा महिला उद्यमीहरुले अल्लोका कपडाहरु प्रर्दशनी तथा विक्रिका लागि स्टल राख्ने उपप्रमुख विपना कुलुङले जानकारी दिनुभयो ।

यो पर्व सोलुखुम्बुसँगै सङ्खुवासभा, इलाम, झापा, भोजपुर, काठमाडौँलगायत देशका २६ जिल्लामा बसोबास गर्ने कुलुङले मनाउँछन् । विसं २०६४ देखि नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघको पहलमा कुलुङ समुदायले चाक्चाकुर मनाउन सुरु गरेको हो ।

चाक्चाकुरको पुरा नाम ‘निङदोङ फाइम मिनारी–दाचाम चाक्चाकुर’ हो । निङदोङ फाइम भनेको नयाँ वर्ष फेरिनु हो र मिनारी दाचामको अर्थ आफ्नै पौरखले उब्जाएको बालीनाली खानु हो । चाक्चाकुर भनेको महिनाको नाम हो । यो पौष महिनामा पर्छ ।

तमुल्होसार पर्व मनाईंदै,

गुरुङ् समुदायले पुरानो वर्षलाई विदा गर्दै आजवाट नयाँ वर्षको रुपमा तमुल्होसार पर्व मनाउँदैछन् ।

आजको दिन गुरुङ् समुदायले एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सामूहिक भोज लगाएत सांस्कृतीक कार्यक्रम गरी ल्होसार मान्ने चलन छ ।

ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ राष्ट्रपति विद्यादेवि भण्डारीले तमु ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपाली गुरुङ् समूदायमा सुख,शान्ति र हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छिन् ।

सुदूरपश्चिममा आज ठूलीरात पर्व मनाईंदै

सुदूरपश्चिममा शनिबार ठूलीरात पर्व धुमधामसँग मनाईंदै छ । एक दिन भए पनि घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मीठामीठा खानेकुरा खाने चलन रही आएको छ ।

आजको रात सबैभन्दा लामो हुने भएकाले यसलाई ठूलीरात मानी राति मीठामीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको स्थानीय सँस्कृतिकर्मी दया कृष्ण पन्तले बताउनुभयो ।

रातभरि कथा, कहानी (स्थानीय भाषामा आईना, बातै ) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने चलन रहेको उहाँले बताउनुभयो । तेल अथवा घ्यूमा तारेर पकाइएका खानेकुरा अथवा घ्यू हालेको भात खाने गरिन्छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु