कुन प्रदेशमा कसको सरकार ?

हिमाल एफ एम,
सोलुखुम्बु, ९ पौष

निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक तर्फको सिट संख्या छुट्याई दिएपछि प्रदेश सरकार गठनको बहस सुरु भएको छ । निर्वाचन परिणम अनुसार एमालेले २ वटा प्रदेशमा एकल बहुमत र अन्य ४ वटामा पनि माओवादी र कांग्रेसको सहयोग बिनै सरकार बनाउन सक्ने देखिएको छ । खास खबर सहकर्मी चित्र तामाङवाट

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धन बनाएर मागिएको भोट जोड्ने हो भने प्रदेश नम्बर २ बाहेकका बाँकी ६ वटै प्रदेशमा बामगठबन्धनको सरकार बन्नेछ । यदी एमाले र माओवादी अलग–अलग भए भने पनि एमाले एक्लैले प्रदेश नम्बर १ र ३ मा प्रदेश सरकार बनाउने छ भने प्रदेश नम्बर ६ मा एमालेलाई १, ५ मा ३ र ७ मा दुई मत मात्र कम हुनेछ । यदि वाम गठबन्धन टुटेमा प्रदेश नम्बर १ र ३ बाहेक अन्यमा प्रतिनिधित्व गर्ने सबै सांसद मिलाउन सके एमाले बाहेककै सरकार बन्ने सम्भावना पनि उत्तिकै छ । प्रदेश नम्बर १ को ९३ सदसीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ मत आवश्यक पर्छ । जसमा एमाले एक्लैको ५१ मत छ । यसमा माओवादी थपिँदा बाम गठबन्धनको ६६ मत पुग्छ । जुन दुई तिहाई हो । यो प्रदेशमा प्रमुख प्रतिपक्षीको रुपमा कांग्रेस रहनेछ ।

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको बहुमत पुग्छ । १ सय ७ सदस्यीय प्रदेशसभामा संघीय समाजवादी फोरमको २९ र राष्ट्रिय जनता पार्टीको २५ गरी ५४ मत पुग्छ । यो प्रदेशमा सरकार बनाउन ५४ मत नै आवश्यक पर्छ । यदि यी दुई पार्टी मध्ये एकले एमाले(माओवादी गठबन्धनलाई साथ दिने हो भने उसकै पक्षमा बहुमत पुग्छ । अन्यथा यो क्षेत्रमा एमाले प्रमुख प्रतिपक्षीको रुपमा रहनेछ । संघीय राजधानीसमेत रहेको प्रदेश नम्बर ३ को १ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ५६ मत आवश्यकता छ । एमाले एक्लैले यो प्रदेशमा ५८ मत प्राप्त गरेको छ । यो प्रदेशमा पनि एमाले एक्लैको बहुमत पुग्नेछ । यसमा माओवादी मिल्दा बाम गठबन्धनको ८१ मत अर्थात् दुई तिहाई पुग्नेछ ।

प्रदेश नम्बर ४ मा पनि माओवादी र कांग्रेसको सहयोग बिनै एमालेले सरकार बनाउन सक्ने अवस्था छ । ६० सदस्यी यो प्रदेशमा सरकार बनाउन ३१ मत आवश्यक छ । एमाले एक्लैको २७ मत छ भने कांग्रेसको १५ मत र माओवादीको १२ मत छ । अन्य पार्टीको ६ मत छ । ६ मत मध्ये ४ मत मात्र लिन सके एमाले एक्लैले सरकार बनाउन सक्नेछ भने एमाले बिना सरकार बनाउन खोजे सबै मिल्नुपर्ने अवस्था छ । जुन सम्भावना कम छ । माओवादी एमालेसँग मिल्दा ३९ मत पुग्नेछ ।

प्रदेश नम्बर ५ मा पनि एमालेलाई एक्लै सरकार बनाउन जम्मा तीन मतको कमी छ । ८७ सदस्यय प्रदेशसभामा सरकार बनाउन ४४ मत आवश्यक पर्छ । एमाले एक्लैसँग ४१ मत छ । उसले संघीय समाजवादी फोरमको ५ मत लिन सके माओवादीको सहयोग बिनै सरकार बनाउन सक्नेछ । यदी गठबन्धन कायम रहेरै सरकार बनेमा बाम गठबन्धनको ६१ मत हुनेछ । यस्तो अवस्थामा नेपाली कांग्रेस यो प्रदेशमा प्रमुख प्रतिपक्षी बन्नेछ । सबै भन्दा कम जनप्रतिनिधि रहने प्रदेश नम्बर ६ मा ४० सदस्यीय प्रदेशसभा हुनेछ । जसमा सरकार बनाउन २१ मत आवश्यक छ । यो प्रदेशमा एमाले एक्लैसँग २० मत छ ।

उसले १ मत जुटाउन सक्ने बित्तिकै माओवादी बिनै सरकार बनाउन सक्नेछ । त्यसका लागि उसले राप्रपाको साथ लिन सक्छ । यदि बाम गठबन्धनकै सरकार बनेमा ३३ मतसहित दुई तिहाई बहुमतको सरकार बन्नेछ । प्रदेश नम्बर ७ मा पनि एमाले एक्लैलाई सरकार बनाउन २ मत कम छ । तर, उसलाई राजपाले सहयोग गरेमा सरकार बनाउन सक्ने अवस्था छ । राजपासँग यो प्रदेशमा २ मत छ । एमाले र माओवादी मिल्दा ३९ मत पुग्छ । जुन प्रदेश सभाको ५३ सदस्य मध्ये दुई तिहाई हो । कांग्रेसको यो प्रदेशमा १२ र माओवादीको १४ छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु