किशोरीहरुलाई सेनेटरी प्याड


शिखर जंग श्रेष्ठ,
सोलुखुम्बु, मंसिर १२

सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रका किशोरीहरुलाई पुनःप्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड वितरण शुरु गरेको छ । लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा जनजागृती आधारभूत विद्यालयका किशोरीहरुलाई प्याड वितरण गरिएको हो ।

नगरपालिका भित्रका विद्यालयमा कक्षा ८ देखि १० सम्मका किशोरीहरुलाई रजस्वलाको समयमा सहजताका लागि कपडाको प्याड वितरण थालिएको नगरपालिकाले जनाएको छ । रजस्वलाको समयमा पनि विद्यालय नछुटोस् भन्नका लागि यो बर्ष ७५० किशोरीलाई प्याड वितरण गरिनेछ ।

बजारमा पाईने यूज एण्ड थ्रो प्याडले प्रदुषण बढाएकाले व्यक्तिगत र सामुदायीक सरसफाईका लागि पुनःप्रयोग गर्न मिल्ने प्याड वितरण शुरु गरेको मेयर नाम्गेल जाङबु शेर्पाले बताए । यस्ता कार्यक्रम आगामी बर्षमा पनि समाबेश गर्ने र कपडाको प्याड स्थानीय स्तरमै प्रयोग गर्न सक्ने गरि तालिमको समेत व्यवस्था मिलाउने मेयर शेर्पाको भनाई छ ।

३ बर्ष सम्म प्रयोग गर्न मिल्ने कपडाको प्याड स्वास्थ्य र सरसफाई मैत्री रहेकोले पनि प्रयोग गर्नु किशोरीका लागि फलदायी बन्ने उपमेयर कल्पना राईले बताईन् । रजस्वलाको विषयमा किशोरीहरु लाज भन्दा पर बस्न सके र पुनःप्रयोग गर्न मिल्ने प्याडको प्रयोगले स्वस्थ बन्न सहयोग मिल्ने उनको भनाई छ ।

वितरण कार्यक्रममा प्याड प्रयोग र पुनःप्रयोगका विषयमा सल्लेरी स्वास्थ्य चौकीका अस्पताल नर्सिङ निरिक्षक सोनाम डोल्मा शेर्पाले किशोरीहरुलाई अभिमूखिकरण गराएकी थिईन् । बाँकी विद्यालयमा क्रमशः कपडाको प्याड वितरण र प्रयोगको सम्बन्धमा जानकारी कक्षा समेत लिईने नगरपालिकाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु