कार्गो ढुवानी भाडा बढेपछि ढुवानी नगर्ने अडानमा खुम्बुका व्यवसायी

शिखर गजरकोटे
सोलुखुम्बु, १ कात्तिक

सोलुखुम्बुको फाप्लु विमानस्थलवाट कार्गो उडान भर्दै आएको श्री एयरले ढुवानी भाडा बृद्धि गरेपछि खुम्बुका व्यवसायी आन्दोलनमा उत्रिएका छन् । प्रतिकेजी २० रुपैया भाडा बृद्धि गरेपछि व्यवसायीले ढुवानी नगर्ने निष्कर्षमा पुगेका हुन् । लुक्ला प्रतिकेजी ७० र स्याङबोचे प्रतिकेजी ९० ले खाद्य तथा निर्माण सामाग्री ढुवानी गर्दै आएको श्री एयरको हेलिकप्टरको भाडा प्रतिकेजी २० रुपैया बृद्धि गरिएपछि व्यवसायीहरु रुष्ट देखिएका छन् । उनीहरुले पुरानै भाडामा ढुवानी गर्ने गरि अग्रिम भूक्तानी दिएपनि एक्कासी कुनै कारण विना ढुवानी भाडा बृद्धि गरेकाले आन्दोलनमा उत्रनु परेको व्यवसायी तिर्थ भट्टराईले बताउनुभयो । व्यवसायी टंक कालिकोटेले अग्रिम भुक्तानी गरेको कम र विमानस्थलमा विग्रीएका सामाग्री क्षति पुर्ती समेत दिनुपर्ने बताउनुभयो । अर्का व्यवसायी खगेन्द्र लामिछानेले बृद्धि गरेको ढुवानी भाडाले व्यवसायी भन्दा पनि उपभोक्ता चरम मर्कामा पर्ने भएकाले पुरानै भाडा कायम गर्नु पर्नेमा जोड दिनुभयो । श्री एयरले भाडा बृद्धिको चित्रबुझ्दो जवाफ नै नदिएकाले व्यवसायीलाई लुट्ने र उपभोक्तालाई मारमा पार्ने षड्यन्त्र भएको व्यवसायी कर्मा शेर्पाको बुझाई छ । अहिले फाप्लु विमानस्थलमा करौडौको सामाग्री अलपत्र अवस्थामा रहेको छ । तिहार अघि नै सामाग्री ढुवानी गर्न नसकिए व्यापारीलाई लाखौ घाटा हुने व्यवसायीहरुको चिन्ता रहेको छ ।

उता, श्री एयरलाईन्सका कार्यकारी निर्देशक सुनिल विष्टले ढुवानी बृद्धि सम्बन्धमा कुनै जानकारी नभएको बताउनुभयो । हिमाल एफ एम संग कुरा गर्दै निर्देशक विष्टले आफूलाई थाहा नभएको भन्दै स्टेशन म्यानेजरवाट जानकारी लिन सकिने बताउनुभयो । एयरलाईन्सका स्टेशन म्यानेजर अमर प्रसाद श्रेष्ठले कार्गो ढुवानी भाडा बृद्धिका कारण चित्तबुझ्दो दिन सकेनन् । उहाँले अहिले बृद्धि भएको भाडा पुरानै भएको बताउनुभयो । यता, व्यवसायीहरुको भनाई अनुसार नाकाबन्दीको समयमा हवाई ईन्धनको अभाव देखाउदै अहिले बृद्धि गरेको भाडा लागु गरिए पनि नाकाबन्दी हट्नासाथ लुक्लाका लागि प्रतिकेजी ७० र स्याङबोचेका लागि प्रतिकेजी ९० रुपैया ढुवानी भाडा निर्धारण गरिएको थियो । ढुवानी भाडा बृद्धि भएसंगै खुम्बुमा सामाग्रहरको मुल्य समेत बृद्धि हुने भएको छ । अहिले ३५ सय लिईदै आएको एक बोरा चामलको मुख्य अब ४५ सय सम्म पुग्न सक्ने व्यवसायीहरुको भनाई रहेको छ । व्यवसायीहरु समस्याको समाधानका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन् । उनीहरुले श्री एयरले ढुवानी बढाएपछि खुम्बुमा महंङगी बढ्ने भएकाले पुरानै भाडामा ढुवानीको प्रबन्ध मिलाईदिन ज्ञापन–पत्र बुझाएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारी खनालले समस्या समाधानमा सहजीकरण गर्ने आश्वासन दिनुभएको व्यवसायीहरुले बताएका छन् ।

यसैबीच, सघर्षका लागि व्यवसायिहरुले संघर्ष समिती गठन गरेका छन् । खुम्बुका व्यवसायिले कर्मा शेर्पाको अध्यक्षतामा १३ सदस्यीय संघर्ष समिती गठन गरेका छन् । समितीको उपाध्यक्षमा खगेन्द्र लामीछाने र तिर्थ भट्टराई, सचिवमा टंक कालीकोटे, सह सचिवमा रमेश बन, कोषाध्यक्षमा होम बहादुर सुनुवार रहेका छन् । पिटि शेर्पाको संयोजकत्वमा सल्लाहकार समिती पनि गठन गरिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु