काम्रेड !

केशव गिरी,

काम्रेड !

तिमी कानको जाली फुट्ने गरी
भाषण गर्थ्यौ, हामी ताली पट्काउँथ्यौँ
नारा लगाउन लाउँथ्यौ
जुलुसमा हिडाउँथ्यौ
सर्वहारा वर्गको मुक्तिका लागि भन्थ्यौ
यो वर्ग विशेषको क्रान्ति भन्थ्यौ
शोषण र दमन विरुद्धको लडाइँ भन्थ्यौ
हो यो हाम्रै मुक्तिका लागि रहेछ सोचेर
सपनाको सगरमाथा बोकेर
तिम्रो पाटीको झन्डा बोक्दै हिड्यौँ
हाम्रो नाम बेच्यौ
हाम्रो काम बेच्यौ
हाम्रो पसिना र रगत बेच्यौ
जवानी र बखत बेच्यौ
बालुवा बोक्ने हाम्रो ढाडमा टेकेर
तिमी आलिसान महलमा पुग्यौ
गरिबको दुःखलाई भर्याङ बनाएर
सिंहदरवार र बालुवाटारमा पुग्यौ
शक्ति र सत्ताको नसा पिउँदै
अहिले लठ्ठ मातेका छौ
हरपल हरदम शक्तिको बेहोसमा छौ
के देख्थ्यौ र जनताका दुःख ?
तिमी त होसमै छैनौ
अब दुःखद दिनहरुको अन्त भो भन्दै
सापटी लिएर सराब पिएर
रातभर सुन्दर सपना देखेको थिएँ
तिमी सत्तामा पुगेको दिन
तिमीले गरेको भाषणको झन्झनाटले
तिमीले दिएको आश्वासनले
बौलाहा जस्तै उफ्रिदो रहेछु ओछ्यानमा
उफ्रिदा उफ्रिदै झसङ्ग बिउझिएछु
परिवर्तन भैसकेको रहेछ समय
फेरिएको रहेछ मौसम
फेरिइ सकेछ तिम्रो भाषण
फेरिइ सकेछ तिम्रो जीवनशैली
अब नचिन्ने भैसकेछौ हामीलाई
निधारमा भिरेको लालझन्डा
तिम्रो आगनीको रातो कार्पेटमा बद्लिइसकेछ
मजदुरको सपना कुल्चिदै
तिम्रो पजेरो हाम्रै छातिमा कुद्दो रहेछु
आखिर हाम्रो त सपना सपना मात्र भएछ
तिम्रो आलिशान महलको छेवैको घरमा
डेरा गरी बसेको म
कोरोनाको कहरले मेरो ढाकर खोस्यो
काम, दाम, माम सबै खोस्यो डेराभित्र भोकै मर्नुभन्दा एकमुठ्ठी प्राण
लालाबालाको सामिप्यमा र्पुयाऊँ सोचेर
त्यही तिमिले बाडेको सपनाको भारी बोक्दै
भोको पेट, नाङ्गो शरीर र खाली खुट्टा
ज्यान जोगाउन गाउँ हिँडेको थिएँ
अँह हुन दिएनौ त्यो पनि पुरा
बाटोअगाडि प्रहरी बनेर उभियो तिम्रो छाया
र लाठी भएर बर्सियो
अब भन काम्रेड !
के चाहिएको छ तिमीलाई
के अपुग छ अझै
म जाँदाजाँदै कतै ढलेछु भने
मेरो काजक्रियामा कात्रो किन्दा होस्
या मेरा सन्तानका नाममा राहत बाँड्दा
अघाउँन्जी खानु कमिसन
अनि डकार्नु शान्तिको डकार…

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!