कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या

शिखर गजरकोटे,
सोलुखुम्बु, कात्तिक २१

जिल्ला प्रशासन कार्यालय सोलुुखम्बुमा दरबन्दी अनुसारको कर्मचारी नहुदा कार्य सम्पादनमा समस्या भएको छ । अधिकांश दरबन्दीका कर्मचारी छैनन् । ४ जना सुब्बाको दरबन्दी पुरै रिक्त छ भने ४ खरिदारको दरबन्दीमा ३ पद रिक्त रहेको छ । समायोजनबाट एक खरिदार आएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले जानकारी दिईन् । दरबन्दीका कम्प्यूटर अपरेटर नहुदा करारमा राखिएको छ ।

अहिले प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, लेखापाल र ६ जना कार्यालय सहयोगी कार्यरत छन् । दरबन्दी अनुसारको कर्मचारी नहुदा मुद्धा, राहदानी र नागरिकता फाँटमा कार्यालय सहयोगी र करारका कम्प्यूटर अपरेटरले काम गर्दै आएका छन् ।

कम्प्यूटर अपरेटरलाई नागरिकको सेवामा राहदानी र नागरिकता फाँटमा खटाएपछि कम्प्यूटर अपरेटरको काम आफूले गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले गुनासो गरिन् । आफूलाई ज्ञान नभएको फाँटमा काम गर्नु पर्दा नागरिकको काम ढिला हुने, तथ्यांक व्यवस्थापनमा समस्या हुने जस्ता समस्या खेप्नु परेको एक कार्यालय सहयोगीले बताए ।

यसैविच, भौगोलिक हिसावले अप्ठ्यारो क्षेत्र भएकाले खुम्बुले भेगको प्रशासनिक सेवाका लागि नाम्चेबाट संचालित सीमा प्रशासन कार्यालय प्रमुख विहिन भएको छ । केही हप्ता अघि कार्यलय प्रमुख सरुवा मिलाएर गए पछि सीमा प्रशासन कार्यालय सहयोगीको भरमा चल्नुपरेको छ ।

पिकसिजनमा खुम्बुका सर्वसाधारण व्यवसायमा तल्लिन हुने र चिसो बढ्न थालेपछि गाउँ छाड्ने भएकाले सेवाग्राही अक्कलझुक्कल आउने शाहीको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु