एक वर्षभन्दा कम सजाय तोकिएका कैदीलाई पैसा तिराएर छाडिँदै

सोलुखुम्बु, चैत्र १०


सरकारले आजदेखि थुनुवा छाड्न थालेको छ। पहिलो चरणमा सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार मुद्दामा कारागारमा रहेकाहरुलाई छाडेको छ ।

डिल्लीबजार कारागारबाट १५ जना छुटेका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले नख्खु कारागारबाट ५ जना छोडेको छ। यही मुद्दाका अरु ६ जनालाई पनि छाड्न प्रशासनले प्रक्रिया अगाडि बढाएको छ ।

सर्वोच्च अदालतको आदेशपछि थुनुवा छाड्ने प्रक्रिया अगाडि बढाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

देशभर यो प्रक्रिया सुरु भइसकेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले बताए। अघिल्लो महिनाको तथ्यांक अनुसार देशभर अभद्र व्यवहार मुद्दामा करिब डेढ सय जना थुनामा छन् ।

यस्तै जिल्ला अदालतहरुले पनि एक वर्षभन्दा कम सजाय तोकिएका र सुधार गृहमा रहेका बालबालिकाहरुलाई छाड्ने प्रक्रिया सुरु गरेको छ। बालबालिकालाई अविभावकको जिम्मा लगाउने तयारी गरिएको र अन्य कैदीलाई दैनिक तीन सय रुपैयाँका दरले कैद वापत तिराएर छाड्न लागिएको हो । कारागार कार्यालय धादिङमा रहेका ९ जना कैदीलाई दैनिक ३ सय रुपैयाँ लिएर छाडिएको छ ।

यस्तो व्यवस्था कानुनमा भएपनि यसबीचमा कार्यन्वयनमा थिएन। तर सर्वोच्चको पूर्ण इजलासले यो निर्णय कार्यन्वयन गर्न आदेश दिएको हो । जिल्ला अदालतमा अब यस्ता कैदीले निवेदन दिन सक्छन्। उनीहरुको निवेदनमाथि सर्वोच्चले आदेश दिएपछि उनीहरुलाई छाडिने छ । स्रोतः नेपाली खबर

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!