उत्कृष्ट विद्यालयलाई ५० हजार पुरस्कार

हिमाल एफ.एम.
सोलुखुम्बु, माघ २४

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका आफैले विद्यालय स्तरीय परीक्षा सञ्चालन गर्ने भएको छ । माघ २० गते बसेको गाउँपालिकाको शिक्षा समिति बैठकले गाउँ पालिका भित्रका कक्षा ५ र ८ को चालु शैक्षिक शत्रको अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका उपप्रमुख जुनिता मगरले जानकारी दिइन् ।

शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षासहित गाउँपालिकाले गाउँपालिका भरी एकैपटक परीक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ । माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको बैठकले परीक्षा सञ्चालनका लागि प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्य परीक्षा समिति समेत गठन गरेको छ ।

बैठकले कक्षा ८ मा सहभागी विद्यार्थीले ल्याएको उत्कृष्ट अंक, विद्यार्थी संख्या लगायत विभिन्न पक्षलाई मुल्याङ्कन गरी तीन वटा विद्यालयलाई संस्थागत रुपमा नगद ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरेको छ । परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना विद्यार्थीलाई क्रमशः १० हजार, ८ हजार र ६ हजार नगद पुरस्कार स्वरुप प्रदान गर्ने समेत निर्णय गरेको छ । माप्य दुधकोशी गाउँपालिकामा कक्षा ५ का २१ विद्यालय र कक्षा ८ का १३ विद्यालयमा गरी करिब ६ सय विद्यार्थी रहेका छन् ।

गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक शिक्षिका तथा अध्ययनरत विद्यार्थीहरुलाई उत्प्रेरित गरी शैक्षिक गुणस्तर अभिवृद्धिमा आइतबारको निर्णयले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु