दिलीपखत्री
खोटाङ, २० बैशाख
अहेवको करार पदमा जागीर लगाईदिने नाममा परीक्षार्थीबाट रकम लिएको आरोप लागेका नासु खनाललाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पठाइएको छ । जागीर लगाइदिन्छु भन्दै परीक्षार्थीबाट रकम अशुलेको आरोपमा पक्राउ परेका नासु खनाललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले मंगलबार इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पठाएको हो ।
परीक्षार्थीबाट रकम लिएको मौखिक तथा लिखित उजुरी परेपछि प्रशासनको अनुुन्धानमा तानिएका नासु खनाललाई प्रशासनले कर्मचारी र सुरक्षाकर्मी सहित इटहरी पठाएको जनाएको छ । प्रमाण बरामद, प्रमाणको खोजी, मुचुल्का तयार, बयान लगायतका प्रारम्भिक अनुसन्धान गरेर आवश्यक अनुसन्धान र कारबाहीका लागि नासु खनाललाई अख्तियार समक्ष पठाइएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताउनुभयो ।
‘भ्रष्ट्राचार सम्बन्धी मुद्दामा हामीले प्रारम्भिक अनुसन्धान गर्ने हो, बिस्तृत अनुसन्धान गरेर मुद्धा किनारा लगाउने काम आयोग आफैले गर्छ,’ प्रजिअ पोखरेलले भन्नुभयो, ‘त्यसका लागि हामीले आरोपितलाई पठाइसकेका छौँ ।’