आफ्नो सृजना आफैँले सेन्सर गर्ने व्यक्ति हूँ – लोक गायक गुरुङ

शंकर विरही गुरूङ स्याङ्गजा जिल्लाको बिरुवा गाउँपालिका – ८ आरूखर्कमा वि.स. २०३३ असोज १ गते जन्मेका हुन् । पिता पिताम्बर गुरूङ र माता हरिकला गुरूङको कोखबाट जन्मिएका गायक गुरूङ अहिले पोखराको माटेपानीमा बस्छन् ।

भुरूङ्ग चौकी प्राथमिक विद्यालय, मनकामना– ४, स्याङ्जा (हालको मा.वि.) बाट कक्षा ५ सम्मको प्राथमिक तहको अध्ययन पूरा गरी श्री नवज्योति मा.वि., किचनास÷बिरूवा, स्याङ्जा (हालको उच्च मा.वि.) मा भर्ना भई सोही विद्यालयबाट माध्यमिक तहको शिक्षा पूरा गरी वि.स. २०५१ मा एस.एल.सी. परीक्षा उत्तीर्ण गरेका हुन् । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाण–पत्र तह उत्तीर्ण गरेका उनले व्यवस्थापन संकायमै पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक र स्नातकोत्तर गरेका हुन् ।

विरही २०५१ साल देखि सनराईज बोर्डिङ स्कूल, बुटवल, भुरूङ्ग चौकी प्राथमिक विद्यालय, मनकामना– ४, स्याङ्जा (हालको मा.वि.), हिल प्वाईन्ट उच्च मा.वि., माटेपानी, पोखरा– १२, कास्की जस्ता विभिन्न विद्यालयहरुमा प्रा.वि., नि.मा.वि., मा.वि., उ.मा.वि. तहको शिक्षक र प्रशासक भई काम गरेका छन् । हाल उनी नोबेल इन्टरनेशनल स्कूलमा प्रशासक एवं लेखा शिक्षकको रुपमा कार्यरत छन् ।

दर्जनौ सृजना बजारमा सार्वजनिक गरेका गुरुङले मौलिकतालाई कहिल्यौ लत्याएनन् । पछिल्लो समय सालैजो भाका ‘राम्दी पुल पारि’ बजारमा ल्याएका गुरुङसंग गरिएको कुराकानीको संपादित अंश –

सांगितिक कोशेली पातलो भयो नी ! किन ?

आर्थिक कुरा प्रमुख कारण हुन् । त्यस वाहेक व्यवस्ततालाई पनि लिन सकिन्छ । भर्खरै सालैजो भाका ‘राम्दी पुल पारि’ बजारमा छ । निर्वाचन पछि केहि सृजनाहरु बजारमा सार्वजनिक गर्नेछु ।

मौलिक भाका बजारमा ल्याएर विकृतीन्मुख क्षेत्रमा शुद्धिकरणको सन्देश दिनुभएको हो ?

हो, मेरो मान्यता के छ भने आधुनिकिकरणमा प्रवेश गर्दै गर्दा हाम्रो मौलिकतालाई विर्सन हुदैन् भन्ने हो ।

बाल्यकालको सम्झना कसरी गर्ने ?

लजालु स्वभावको थिए । बाल्यकालमा गीतसंगीतमा खासै रुची देखाईन तर एसएलसी पास गरेपछि गाउँमा हुने कार्यक्रममा सहभागी बन्ने क्रममा लोक गीतमा समर्पित हुन पुगेँ ।

गीत गाएकै/लेखेकै भरमा आलोचित हुनु परेको क्षण छ ?

छैन्, मैले दुई दशक बढि यो क्षेत्रमा काम गर्दै गर्दा कुनैपनि गीतवाट आलोचना खेप्नु परेको छैन् । किनकी म सृजना आँफैवाट सेन्सर गरिनुपर्छ भन्ने स्वभावको व्यक्ति हूँ । हरेक सृजनालाई नेपाली समाजसंग तुलना गर्दै मौलिकता समाबेश गर्ने कोहिस गरेकै हुन्छु ।

मोफसलमा बस्नुको वेफाईदा के नी ?

देश तथा विदेशमा कार्यक्रम आयोजना गर्नेहरुको नजरमा कम परिन्छ । सञ्चारमाध्यमले पनि काठमाण्डौ बसेकालाई मात्रै बढि फोकस गर्ने भएकाले चर्चापरिचर्चावाट केहि पछि परेको महसुस कहिलेकाँही हुन्छ । नत्र, पोखरा मन परेकै कारण बसेको हूँ ।

आगामी प्रस्तुती के छन् ?

अमेरिकामा बस्दै आउनुभएका सजर्क तथा गायक भगवान भण्डारीको सृजना र सर्जक रमेश विजीको अभिनयमा गीत आउदैछ । रेकडिङ सकिएको छ । निर्वाचन पछि सार्वजनिक गर्ने तयारिमा छौ ।

प्रस्तुती – शिखर गजरकोटे

Comments

comments

सम्बन्धित शीर्षकहरु