आज जनैपूर्णिमा पर्व, विभिन्न धार्मिक स्थलमा भब्य मेला

हिमाल एफ एम । भदौ १२- आज हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी पर्व मनाउँदैछन् । जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गइ माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । यस्तै, सुरक्षाका लागि भन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ ।

काठमाडौंका पशुपतिनाथ, बंगलामुखी, कोटेश्वर महादेवस्थानलगायतका मन्दिरहरुमा रक्षाबन्धन गर्नेहरुको भीड लागेको छ । आज बाँधिएको डोरो गाई तिहारका दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार होइन्छ भन्ने जनविश्वास छ । यस्तै, वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित असरमा फेरि ऊर्जा ल्याउन भन्दै आज नौ जातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिकतत्वयुक्त क्वाँटी खाने गरिन्छ ।

यस्तै, भाई र बहिनीको प्रेम प्रतीकको रुपमा मनाइने रक्षा बन्धन पर्व र जनैपूर्णिमा आज मिथिलाअञ्चल क्षेत्रमा पनि धूमधामका साथ मनाइँदै छ । जनकपुरको जानकी मन्दिर, राममन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ । रक्षाबन्धनको अवसरमा दिदी बहिनहरुले आफ्ना दाजु–भाइहरुलाई राखी बानी रक्षाबन्धन पर्व मनाइँदैछ ।

यसैबीच, रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुन्डमा जनैपूर्णिमाको अवसरमा मेला लागेको छ । भगवान् शिवको बासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुन्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रही आएको छ ।

मेला भर्न देशका विभिन्न स्थानका साथै विदेशबाटसमेत भक्तजनहरु गोसाइँकुन्ड पुगेका छन् । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष त्यहाँ पुग्ने भक्तजनको संख्या भने निकै कम रहेको छ । भाद्र शुक्ल एकादशीदेखि सुरु भएको जनैपूर्णिमा मेला आजसम्म लाग्दछ । यस वर्ष गएको भूकम्पका कारण भक्तजनको उपस्थिति न्यून देखिएको हो । मेलाको व्यवस्थापनमा नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी र स्काउट खटिएका छन् ।

गोसाइन्कुन्ड समुन्द्रीसतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको छ भने यसको लम्बाई ६ सय मिटर छ भने चौडाई ३ सय ७० मिटर रहेको छ । उता, पूर्वको गोसाइँकुन्ड भनेर चिनिने संखुवासभाको प्रसिद्ध धार्मिक तीर्थस्थल सभापोखरीमा पनि भक्तजनको घुइँचो लागेको छ ।

म्याग्दीको नागी बाराही र शिखको खयरबाराही मन्दिरमा पनि जनैपूर्णिमाको अवसरमा मेला लागेको छ । जनैपूर्णिमाका अवसरमा सिन्धुलीको रामेश्वरधाम, काली कमलामाईस्थान, कुशेश्वर दुम्जालगाएतका विभिन्न धार्मिक स्थलहरुमा विशेष मेला लागेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु