अस्वस्थ प्रतिस्प्रर्धा घटाउन कोठाभाडा संकलन

सोलुखुम्बु, चैत्र २६

खुम्बुक्षेत्रमा होटल एसोसियसनको नाममा पर्यटकहरुसंग कोठा भाडावापत्को रकम संकलन भईरहेको गुनसो चुलिएपछि जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेको छ ।

अवैध रुपमा रकम संकलन भईरहेको सूचनाको आधारमा नाम्चे होटल व्यवसायी संघलाई ७ दिन भित्र प्रशासनमा उपस्थित हुन गत शुक्रबार पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जानकारी दिए । रानाले होटलले उठाउनुपर्ने रकम कुनै एक संस्थाले उठाउनु गलत भएको भन्दै यर्थाथ बुझ्नका लागि पत्र काटिएको हो ।

फायल फोटो

खुम्बुपासाङल्हमू गाउँपालिकाको वडा नं १ बाहेकका ४ वडामा झण्डै आधादर्जन होटल एसोसियसनको नाममा सिङगल कोठाको पाँच र डबल कोठाको एक हजार शुल्क लिदै आएका छन् । उनीहरुले खुम्बुका होटलमा अस्वस्थ प्रतिस्प्रर्धा बढेका कारण एसोसियसन मार्फत कोठा भाडा संकलन थालेको बताएका छन् ।

नाम्चे होटल व्यवसायी संघले पनि यो कार्यालाई समर्थन गरेको छ । संघका सदस्य लामाकाजी शेर्पाले होटलको तुलनामा पर्यटक कम आउने भएपछि होटल संचालकहरुले पर्यटकले खाना खाए कोठा निशुल्क लगायतका अफर ल्याएर होटल व्यवसाय धरापमा पार्न खोजिएकाले एसोसियसनमार्फत कोठा भाडावापत्का रकम संकलन गर्न थालिएको बताए ।

खुम्बुक्षेत्रमा पन्ध्र सय देखि दुई हजारसम्म पर्यटक अट्ने होटल संचालनमा आएपनि दैनिक तिन देखि चारसयको हाराहारीमा मात्र पर्यटक आउने भएकाले पनि होटल संचालकहरु पर्यटक तान्नका लागि अस्वस्थ प्रतिस्प्रर्धामा उत्रिन थालेको व्यवसायीहरुले बताएका छन् ।

खुम्बुपासाङल्मू गाउँपालिकाले पनि एसोसियसन मार्फत रकम संकलन कार्यलाई उचित मानेको छैन् । प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले अनुसार एसोसियनले होटलव्यवसायीलाई स्वस्थ प्रतिस्पर्धामा उत्रन सहयोग गर्नुपर्ने बताए । व्यवसायीहरुलाई सहजीकरण गरेर बेग्लै कोठाभाडा संकलन गर्न रोक्नुपर्ने शेर्पाको भनाई छ । हाल गाउँपालिकामा ४ वटा होटल एसोसियन दर्ता भएका छन् भने केही दर्ता प्रक्रियामा छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु