अस्पताल निर्माणको लागि महायज्ञ, १० करोड संकलन

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ९

अस्पताल निर्माण सहयोगार्थ सोलुखुम्बुको मुक्लिमा सम्पन्न श्रीमत भागवत ज्ञान महायज्ञबाट १० करोड संकलन गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माण गरिने सुविधासम्पन्न ५० शैयाको दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि चैत्र २ देखि ९ सम्म संचालित महायज्ञबाट १० करोड ७७ लाख ४२ हजार ६५८ रुपैयाँ सहयोग संकलन भएको हो ।

थुलुङ राई समुदायको बाहुल्यता रहेको गाउँपालिकामा गरिएको महायज्ञमा सहयोगी दाताहरुले नगद, चेक हस्तान्तरण गरेका छन् भने धेरैले प्रतिबद्धता जनाएका छन् । महायज्ञ अवधिभर ९३ लाख खर्च भएको शनिबार मुक्लिमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । महायज्ञबाटै २० करोड संकलन गर्ने गाउँपालिकाको लक्ष्य ५० प्रतिशत पुरा भएको छ । उद्यपी, सहयोग संकलन अभियान निरन्तर रहने गाउँपालिकाले जनाएको छ ।

महायज्ञ समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले महायज्ञले सामाजिक सद्भाव बृद्धिमा पनि भूमिका खेलेको बताए । अस्पताल निर्माणपछि हुदाखानी वर्गले बढि लाभ लिन सक्ने बताए । प्रदेश नं १ का सांसद उत्तम कुमार बस्नेतले जिल्लाको सम्बृद्धि थुलुङ दुधकोशी गाउँपालिकाबाट शुरु भएको बताए । उनले जनप्रतिनिधिले बाटो बिराए जनतालाई खबरदारी गर्न आग्रह समेत गरे ।

चैत्र २ गते मुक्लिमा शिलान्यास गरिएको अस्पताल निर्माणको लागि करिब २४ रोपनी जग्गा निशुल्क प्राप्त भईसकेको छ भने स्वदेश तथा विदेशका विभिन्न मूलुकमा सहयोग संकलन कार्यलाई जारी राखिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले आगामी दुई बर्ष नबित्दै सुविधासम्पन्न सामुदायीक अस्पताल उद्घाटन गर्ने प्रतिबद्धता व्यक्त गरे । आर्थिक संकलन संगै धार्मिक सहिष्णुता कायम राख्नको लागि महायज्ञ सफल भएको दाबी गरे । महायज्ञमा कथावाचन पण्डित दिनबन्दु पोखरेलले गरेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु