अलैचीको भाउ नपाउँदा सोलुका कृषक मारमा ।

alaechi-1हिमाल एफ एम, सोलुखुम्बु – सोलुखुम्बुमा अलैचीको पकेट क्षेत्रको रुपमा परिचित चौलाखर्क गाविसमा धान मकै फल्ने खेतबारीमा अलैची खेत गरेका कृषकहरु अलैची बिक्री नहुँन्दा चिन्तित बनेका छन् ।

दुई बर्ष अघि सम्म अलैची लिन व्यापारीहरु तछाड मछाड गर्दै घरमै आउने गरेको भएपनि अघिल्लो बर्ष र यस बर्ष अलैची खोज्न व्यापारीहरु नआउँदा कृषकहरु चिन्तित बनेका हुन् । अघिल्लो बर्ष उत्पादन भएको अलैची केही कृषकहरुले घरमै थन्काएर राखेका छन् भने केहीले बिक्री भएपछि पैसा लिनेगरी स्थानीय व्यापारीलाई जिम्मा लगाएको भएपनि व्यापरीले पनि त्यत्तिकै थन्काएर राख्दा पैसा पाएका छैनन् । यसरी दुई बर्ष अघिसम्म आम्दानीको राम्रो स्रोत मानिएको अलैची बिक्री नहुँदा त्यहाँका कृषकहरु मारमा परेका हुन् ।

चौलाखर्कमा ८० प्रतिशत भन्दा बढि धानखेतमा अहिले अलैची बगान भएको छ भने मकै कोदो फल्ने बारी पनि सिंचाईको सुबिधा भएसम्म अलैची रोपिएको छ । यसरी राम्रो आम्दानीको आशामा कृषकहरुले धान÷मकै फल्ने खेतबारीमा धमाधम अलैची रोपेको भएपनि अघिल्लो बर्षबाट बजार पाउन मुस्किल भएपछि समस्या बढेको चौलाखर्कका केसव बस्नेत बताउनुहुन्छ । अन्न जन्य बालीको खेती पनि नगरिएको र अलैची बिक्री नहुँदा आद्यन्न किन्न समेत धौ धौ पनि थालेको उहाँको भनाईछ । पहिलेको खेतबारी अहिले अलैची बगान सँगै बढेका रुखहरुका कारण जंगल भएकोछ, तत्काल त्यसलाई खेतबारीमा परिणत गर्न मुस्किल हुने र अलैचीले बजार नपाए जीवन यापनमा समस्या हुने बस्नेतको ठहर छ ।

बजार नपाउने समस्या एकातिर रहेको छ भने यस बर्ष उत्पादन पनि निकै घटेको छ । गत बर्षको तुलनामा करिव ६० प्रतिशतले उत्पादन घटेको स्थानीय अलैची कृषक एवं व्यापारी गोबर्धन बस्नेत बताउनुहुन्छ । उहाँका अनुसार गत बर्ष पुष महिनामा परेको बाक्लो तुसारो र जेठ महिनामा परेको चर्को खडेरीका कारण अलैचीको बोट तथा फुल सुक्दा उत्पादनमा कमी भएको हो । यसरी केही बर्ष अलैचीबाट राम्रो उत्पादन लिएका चौलाखर्कका अलैची कृषकहरु यसबेला अलैचीको फल टिप्ने तथा सुकाउने काम गर्दै गर्दा निरास देखिन्छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु