अमेरिकामा दश वर्ष यताकै शक्तिशाली आँधी, ३० जनाभन्दा बढीको ज्यान गयो

सोलुखुम्बु,वैशाख २

अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली आँधीका कारण ३० जनाभन्दा बढीको ज्यान गएको छ ।

 आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारबिहीन भएका छन् । आँधीका कारण ठाउँ ठाउँमा बाढी र पहिरो गएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

अलाबामा राज्यमा आँधीपीडित मानिसहरु सामुदायिक आश्रयकेन्द्रमा भेला भएका र कोराना भाइरस प्रसार रोक्न उनीहरुले मास्क लगाउनु परेको छ । आँधीबाट अलाबामा राज्यमा मात्र ११ जनाको ज्यान गइसकेको छ । दक्षिणी क्यारोलाइना राज्यमा नौ जनाको ज्यान गएको छ भने छिमेकी राज्य जर्जियामा आठ जनाको ज्यान गएको छ ।

टेनिसी राज्यका अधिकारीहरुले राज्यमा कम्तीमा तीन जनाको ज्यान गएको जनाएका छन् । अर्कान्सस र उत्तरी क्यारोलाइना राज्यमा रुखहरु ढलेका वा घरहरु भत्किएका कारण केही व्यक्तिको ज्यान गएको आशंका गरिएको छ । 

दक्षिणी क्षेत्रका राज्यहरुका कपितय ठाउँमा शक्तिशाली चक्रवात (टोर्नाडो) उत्पन्न भएको र यी चक्रवातहरु पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ ।  

मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले एक दशकको अवधिमा यति शक्तिशाली आँधी पहिलोपटक देखिएको बताउनुभयो । उहाँले राज्यमा विगतमा पनि चक्रवातको अनुभव गरिएको तर यति शक्तिशाली आँधी पहिलोपटक आएको बताए । 

unn.prixa.net

जर्जियाका गभर्नर ब्रायन केम्पले कोरोनाभाइरसका कारण धेरै मानिस कामविहीन भएको अवस्थामै आँधीले उनीहरुको सर्वस्व लुटेको बताए। ‘अब यी मानिससँग आफ्नो भन्ने केही छैन, सबै गुम्यो ।’

यो आँधी आइतबारदेखि सुरु भएको हो । अलाबामा राज्यका गभर्नर के आइभीले कोरोना प्रसार रोक्ने उद्देश्यले लगाइएको‘सामाजिक दूरी’सम्बन्धी नियम पनि हटाइदिनु भएको छ । 

राज्यका अस्थायी आश्रयस्थलहरुमा मानिसहरु मास्क लगाएर एकै ठाउँमा भेला भएर बस्न बाध्य भएका छन् । आँधी प्रभावित क्षेत्रहरुमा बाढी र पहिरो गएको छ भने टेक्सासदेखि मेनसम्मको क्षेत्रमा १३ लाख ग्राहकको विद्युत लाइन काटिएको छ । 

टेनिसी उपत्यकामा सप्ताहान्तमा वर्षा मापन गर्दा १५ सेन्टिमिटरसम्म वर्षा भएको पाइएको छ । टेनिसी र अलाबामाका ताल र नदीको सतह बढेको छ । स्रोतः उज्यालो

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!