अप्रिय घटना हुनबाट बचाउन खोटाङमा उच्च सुरक्षा व्यवस्था

हिमाल एफ.एम
खोटाङ, १ कात्तिक ।

चाडवाड तथा निर्वाचनको समयमा हुन सक्ने अप्रिय घटनालाई न्यूनिकरण गर्न जिल्लामा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । तिहार तथा छट पर्व र नजिकिँदै गरेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर जिल्लामा उच्च सुरक्षा व्यवस्था मिलाइएको हो ।

जिल्लाको मुख्य नाका तथा व्यापारिक केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोली मङ्गलबारबाट चौबीसै घण्टा परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । जिल्लामा हुने अप्रिय घटनालाई तत्कालै समाधान गर्न जिल्ला प्रहरी कार्यालयको १०० नम्बरको हटलाईन टेलिफोनलाई चौबीसै घण्टा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । उक्त हटलाईनमा संकलित जानकारीको आधारमा थप सुरक्षाकर्मी परिचालन गरेर अप्रिय घटनालाई न्यूनिकरण गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।

चाडवाडको समयमा विभिन्न बहाना बनाएर सर्वसाधारणलाई जबरजस्ती चन्दा माग्ने व्यक्ति तथा संस्थालाई कडा कारबाही गर्ने प्रशासनले निर्णय गरेको छ । कतिपय व्यक्ति तथा संघसंस्थाले यसअघि तोकेरै चन्दा माग्ने गरेको पाइएकाले यस वर्ष त्यस्ता व्यक्ति तथा संघसंस्थालाई कारबाही गर्ने निर्णयगरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

जबरजस्ती चन्दा माग्ने व्यक्ति तथा संघसंस्थाको नाम हटलाईनमार्फत जानकारी गराउन पनि सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ । जबरजस्ती चन्दा लिने व्यक्ति तथा संघसंस्थालाई ठगी मुद्दा दर्ता गरेर कारबाही गरिने जनाइएको छ ।

तिहारको अवसरमा आयोजना गरिने देउसी÷भैलो कार्यक्रम राति दश बजेभन्दा बढी समय नगर्न जिल्लावासीलाई प्रशासनले आग्रह गरेको छ । राति अबेरसम्म आयोजना गरिने कार्यक्रममा सुरक्षा दिन नसकिने भन्दै दश बजेभन्दा अगाडि नै सबै कार्यक्रम सम्पन्न गर्न प्रशासनले आग्रह गरेको हो ।

तिहारको अवसर पारेर जिल्लामा एकादशीसम्म देउसी÷भैलोका साथै विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने चलन छ । विभिन्न संघसंस्थाले आयोजन गर्ने कार्यक्रममार्फत संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने चलन छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु